सुक्खा हिउँद, किन परेन पानी

काठमाडौँ , २०८१ माघ २८ गते सोमबार । तत्काल पानी पर्ने सम्भावना नदेखिएपछि हिउँदे खडेरी पर्ने भन्दै विज्ञहरुले कृषि, जल, वन, ऊर्जालगायत क्षेत्रमा असर पर्ने चिन्ता व्यक्त गरेका छन्। 

जल तथा मौसम विज्ञान विभागले हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण यसअघि नै गरेको थियो। मङ्सिर १५ देखि फागुन १६ सम्मको हावापानी आँकलन गर्दा औसतभन्दा कम पानी पर्ने र न्यूनतमदेखि अधिकतम तापक्रम बढ्ने पूर्वानुमान गरिएको थियो। 

अब हिउँदे अवधि करिब तीन सातामात्र बाँकी रहेको अवस्थामा तत्काल पानी पर्ने सम्भावना न्यून देखिएको विज्ञको अनुमान छ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेल अहिलेको अवस्थामा वर्षा भइहाल्ने नदेखिएको बताउँछिन्। 

‘खासै पानी पर्ला जस्तो छैन, औसतभन्दा कम नै होला,’ सिनियर डिभिजनल मेटेरियोलोजिष्ट पोखरेलले भनिन्‚ ‘सुक्खारसुक्खा हुने जस्तो देखिन्छ, यद्यपि फेब्रुअरी नसकिएसम्म समग्र यो हिउँद कस्तो भयो भन्न मिल्दैन।’ 

जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान विभागले हिउँदको बाँकी समयमा पनि वर्षा र हिमपातको मौसमी प्रणाली नरहेको बताएको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार यो वर्ष हिउँदयाममा पश्चिमी वायुको प्रणाली कमजोर रहेका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपात परेको बताउनुभयो ।

मौसमविद् लामिछानेले भन्नुभयो, “हिउँदयाममा पश्चिमी वायु आउनाले नेपालमा हिमपात र वर्षा हुने सम्भावना बढ्ने हो । यो वर्ष त्यति सक्रिय भएर आएको छैन । पश्चिमी वायु आए पनि कमजोर पश्चिमी वायु प्रणाली भएकोले कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षा भयो र हिमाली भूभागमा हल्का हिमपात भएको अवस्था थियो ।”

उहाँले पश्चिमी वायुको कमजोर प्रणालीका कारण देशको पूर्वी क्षेत्रसम्म यसको असर नपरेकोले वर्षा र हिमपात हुन नसकेको भनाइ राख्नुभयो । उहाँले भन्नुभयो, “हिउँदमा हिउँदे वर्षा कस्तो हुन्छ भनेर जलवायु मौसम विभागले कम वर्षा हुने, तापक्रम सरदरभन्दा बढ्ने भनेर आङ्कलन पनि गरेको थियो । त्यही पनि हिउँदको समय करिब एक महिना अझै बाँकी नै छ । तत्कालै पनि हिउँदे वर्षा हुने, हिमपात हुने मौसम त देखिँदैन ।”

यस वर्ष हिउँदमा मौसम प्रणाली किन फरक भएको हो भन्ने जिज्ञासामा उहाँले मौसम प्रणाली दैनिक रुपमै फरक–फरक हुने भएकोले यस वर्षको मौसम अघिल्लो वर्षभन्दा फरक हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मौसम प्रणाली प्रत्येक वर्ष फरक हुन्छ । प्रत्येक दिन नै फरक भइरहेको हुन्छ । अघिल्लो पटक जस्तो हुन्छ त्यही नै हुन्छ भन्न सकिँदैन ।”  उहाँले ग्लोबल वार्मिङका कारण मौसम प्रणालीमा परिवर्तन आइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रत्येक वर्ष चेन्जेज् र भेरियबिलीटी हुन्छ । किनभने, ग्लोबल तापक्रम बढीरहेको अब्जरभेसन पनि आइरहेको छ । यसलेगर्दा प्रणालीमा परिवर्तन हुन त सक्छ ।” उहाँले हिउँदमा जति हिमपात र वर्षा हुनुपर्ने थियो त्यो हुन नसकेको बरु, सुख्खा, खडेरी बढ्ने सम्भावना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले हिउँदमा जति हिमपात हुनुपर्ने हो त्यो अवस्था देखिँदैन । त्यसले गर्दा कतिपय हिमालमा हिउँ पग्लेर काला पत्थर देखिएको अवस्था पनि छ । तापक्रम हुने, सुख्खा, खडेरी बढ्ने सम्भावना  छ ।”

सुक्खा हिउँद 

जलवायु विज्ञ डा। धर्मराज उप्रेती हिउँदको बाँकी अवधिमा पानी पर्ने सम्भावना न्यून देखिएको बताउँछन्। यसपटक ९० प्रतिशतभन्दा बढी सुक्खा भएको छ। देशको पूर्वी भूभागमा एकदमै सुक्खा छ। 

‘पोहोर पनि ८० प्रतिशत कम वर्षा भएको थियो। यसपटक पछिल्ला दुई वर्षको रेकर्ड तोडिने अवस्था भइरहेको छ,’ विपद् व्यवस्थापन विज्ञसमेत रहेका डा। उप्रेती भन्छन्‚ ‘कम वर्षा भएको यो लगातार तेस्रो हिउँद हो। फेब्रुअरी २८ पछि हिउँदे अवधि सकिएर प्रि–मनसुन शुरु हुन्छ, अब बाँकी ३ हप्ता हिउँदमा पानी पर्ने सम्भावना न्यून छ।’ 

एल निनो–ला लिना ट्रान्जिसन

​एल निनोदेखि ला लिनासम्मको ट्रान्जिसन निकै कमजोर भएको बताउँदै डा। उप्रेतीले ट्रान्जिसनमै भएकाले हिउँदे वर्षा कम भएको बताए। 

एल निनो र ला लिना समुद्रको सतहको तापक्रममा आउने फेरबदल हो, जुन वेला  इन्डोनेशिया, अष्ट्रेलियादेखि नेपालपट्टीको भाग र इन्डोनेशियादेखि अष्ट्रेलिया हुँदै ल्याटिन अमेरिकासम्म समुद्रको सतहमा तापक्रम विपरीत ढंगले घटबढ हुन्छ।

उप्रेतीका अनुसार एकातिर समुद्र तातो हुने र अर्कोतिर चिसो हुने अवस्था हुन्छ, जसलाई एल निनो र ला लिनाको साइकल भनिन्छ। 

यसको साइकल सामान्यतया लगभग ३ देखि ७ वर्षको हुन्छ भने कहिलेकाही ३ देखि ४ वर्षमा पनि साइकल आइरहेको हुन्छ। नेपालमा २ वर्षदेखि ४र५ महिनाअघिसम्म एल निनोको अवस्था थियो।

अहिले परिवर्तन भएर ला लिना उन्मुख भइरहेको छ। यो चरणमा हिन्द महासागरको दुई वटा पोलको तापक्रममा पनि परिवर्तन भएको छ।

सामान्यतया ला लिनाको परिस्थितिमा बर्खामा पानी बढी पर्छ भने हिउँदमा थोरै पर्छ। ट्रान्जिसनमा एल निनो अवस्था भयो भने पनि हिउँदमा कम र बर्खामा पानी बढी पर्छ। यसरी आगामी वर्षामा धेरै पानी पर्ने सम्भावना पनि हुनसक्ने विज्ञको अनुमान छ। यद्यपि समुद्री सतहको तापक्रमसँगै साइकल कतातिर जान्छ त्यसमा निर्भर रहने डा। उप्रेती बताउँछन्।

पश्चिमी वायु निष्क्रिय 

‘पश्चिमी वायु सक्रिय भएन भने वर्षा हुँदैन। ‘पश्चिमी वायु यसपटक सक्रिय नहुनुको कारण भूमध्य सागरको सतहको तापक्रममा आएको परिवर्तन र त्यसले सिर्जना गर्ने पश्चिमी वायु कमजोर भएसँगै अरब सागर र बंगालको खाडीमा पनि समुद्री सतहको तापक्रममा आएको परिवर्तनले यसपालि वर्षा र हिमपात कम भयो‚’ उनले थपे।

उनका अनुसार अहिलेसम्म ९।२ प्रतिशत मात्रै वर्षा भएको छ। ‘हिउँदे अवधिमा औसतमा ६१ मिलिमिटर पानी पर्नुपर्ने हो तर ५।५ मिलिमिटर मात्रै परेको छ, त्यो पनि पश्चिमी भागमा मात्रै केही दिन परेको छ‚’ विज्ञ उप्रेतीले भने। 

त्यसो त केही वर्षयता पानी पर्ने प्रणालीमा फेरबदल देखिएको छ। जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमसँगै पानी पर्ने तरिकामा पनि परिवर्तन भइरहेको विज्ञहरु बताउँछन्। 

तापक्रम बढ्नु र वर्षा हुने तरिकामा परिवर्तन हुन जलवायु परिवर्तनको असर भएको बताउँदै जलवायु विज्ञ डा। पपुलर जेन्टल भन्छन्‚ ‘वर्षाको प्रवृत्ति हिउँदमा कम र मनसुनमा धेरै पर्ने हुन्थ्यो तर अहिले आएर मनसुन अवधिको पनि एक हप्तामा मात्र पर्छ।’ 

पानी नपर्दा विविध प्रभाव 

हिउँदमा पानी नपर्दा कृषि–खेती प्रणाली, वन प्रणाली, ऊर्जा प्रणालीमा नराम्रो प्रभाव पार्ने देखिन्छ। सिँचाइको अभाव भएका नेपालका धेरै ठाउँमा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ। त्यस्ता ठाउँमा खडेरीले ठूलो नोक्सानी हुने गरेको छ। 

वनमा जंगली जनावरले पानी नपाउनेलगायत समस्याले समग्र पारिस्थितिकीय प्रणालीमा असर पुग्ने जानकार बताउँछन्। सुक्खा बढेका कारण नै विभिन्न जिल्लामा वनमा आगलागी घटना भइरहेका छन् भने काठमाडौँलगायत शहरहरूमा प्रदूषण खतराको तहसम्म पुग्नुको कारणमध्ये एउटा पानी नपर्नु पनि हो। 

‘पानी नपर्दा हिमालमा हिउँसँगै तल्लो भेगमा पानीलाई असर गरिरहेको छ। ‘हिउँ नपर्दा हिमाल नांगा देखिएको, काला पत्थर देखिएको, ठाउँ–ठाउँमा उजाड भएको छ, यसको सीधै प्रभाव तल आएर पानीमा देखिन्छ। पानीका मुहान, स्रोत सुक्न थालेका छन् जसले गर्दा पिउने पानीको समेत संकट आउन सक्छ‚’ डा। उप्रेती ले भने।

योजना बनाउँदा ध्यान दिन जरुरी

राज्यले कृषि, ऊर्जालगायत क्षेत्रमा योजना निर्माण गर्दा पछिल्लो समय परिवर्तित मौसमी प्रणालीको प्रवृत्ति पछ्याउन जरुरी रहेको डा। जेन्टलको भनाई छ। पानी कम पर्दा सबैभन्दा धेरै जलविद्युत, कृषिमा प्रभाव पर्ने भन्दै उनले प्रदूषणको अवस्था हेर्दा यस्तो खालको ट्रेन्ड निरन्तर हुने देखिएको बताए।

हिउँदमा कम पानी पर्ने यसअघि गरिएका प्रक्षेपण, मौसमको आगामी सिनारियो हेरेर वन, जल, कृषि, ऊर्जालगायत क्षेत्रका योजना बनाउनुपर्नेमा उनले जोड दिए। 

‘जलवायुसम्बन्धमा अबको २०–३० वर्षमा नेपालमा के हुन्छ भन्ने खालका प्रक्षेपण हेर्न जरुरी छ‚’ उनले भने‚ ‘मौसमी फेरबदल, पूर्वानुमानलाई अब राजनीतिक तहमा, नीति निर्माताहरूले सम्बोधन गरी अगाडि बढ्नु नै एडाप्टेशन हो। भइरहेको परिवर्तन अनुकूल बन्दै अगाडि बढ्नुपर्छ।’

प्रतिकृया दिनुहोस

टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने

मङ्गलबार, माघ २९, २०८१,  धनगढी । कैलालीको टीकापुर नगरपालिकालाई गुलाफको सहर बनाउने अभियान थालिएको छ । भ्यालेन्टाइन–डे अर्थात् फेब्रुअरी १४ देखि यो

तराईमा दिउँसो हुस्सु कम हुँदै, भोलिदेखि हिमपातको सम्भावना

पुष २०, २०८१ शनिबार । काठमाण्डौ – तराईमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने गरेकोमा हिजोदेखि सुधार हुन थालेको छ । बिहानपख हुस्सु लागे पनि दिउँसो हटेर

पश्चिम नेपालमा आज देखि फेरी चिसो बढ्ने, हिमपात र हल्का वर्षाको सम्भावना सचेत रहन आग्रह

७ पुष २०८१, आईतवार   नेपालको पश्चिमी भूभागमा अबको केही दिन चिसो बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पश्चिमी न्यूनचापीय